सभामुखले सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन नगरेको सांसद अर्यालको आरोप

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा हुनुपर्नेमा त्यसअनुसार व्यवहार नभएको टिप्पणी गर्नुभयो ।

विपक्षी सांसदहरूले उठाइरहेका आवाजलाई बेवास्ता गरिएको महसुस भएको बताउँदै सभामुखले विपक्षीको भावनालाई कुल्चिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रतिपक्षी सांसदहरूले बोलेपछि सत्तापक्षबाट पटक–पटक ललकार्ने प्रवृत्ति देखिएको छ। संसद् सरकारको प्रशंसा मात्रै गर्ने थलो मात्रै होइन। यो संसद् प्रतिपक्षीको पनि हो। सरकारसँग जवाफ माग्ने, आफ्नो कुरा राख्ने र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने काम प्रतिपक्षको कर्तव्य हो ।’

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १९ : ५७  बजे