काठमाडौं, १२ जेठ । जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले–बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ले सोमबार संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभएको हो ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनर्निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश ले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८१ असोज १२ गतेको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्याएको थियो । सोही क्षतिग्रस्त सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन पुनर्निर्माण कार्य अघि बढाइएको हो ।
पिप्ले–बर्खेखोला खण्डको निर्माण जिम्मा जापानको सिमिजु कर्पोरेसन ले पाएको छ । जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान सहयोग उपलब्ध गराउने गरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि अहिले निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको जनाइएको छ ।
यसअघि जाइका टोलीले अस्थायी सडक, क्याम्प निर्माण तथा पूर्वतयारीका काम सम्पन्न गरिसकेको थियो । हाल बिपी राजमार्गका विभिन्न चार खण्डमा पुनर्निर्माणको काम एकसाथ सञ्चालन भइरहेको छ ।
इन्जिनियर योगेशका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डमा करिब २५ प्रतिशत प्रगति भएको छ । बाढीले क्षति पुर्याएका स्थानमा ‘आरसिसी’ पर्खाल, प्लम्प संरचना तथा सडक चौडा बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अब पुनर्निर्माण गरिने सडक दुई लेनको हुनेछ । हाल रहेका पुलसँगै थप पुल निर्माण गरी सम्पूर्ण संरचनालाई दुई लेनमै स्तरोन्नति गरिने योजना बनाइएको छ । पाँच वटा पुललाई समेत दुई लेनमा विस्तार गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभी, चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको खण्डका लागि लामा–नवकान्तिपुर जेभी तथा नेपालथोकदेखि बर्खेखोलासम्मको सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।
सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि कुल आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको जनाएको छ ।
जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।








प्रतिक्रिया