काठमाडौं, ११ जेठ । ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले १५ बुँदे माग सार्वजनिक गर्दै ती माग पूरा नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको हो।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौँ भूमिहीन तथा सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनर्स्थापना र उचित व्यवस्थापनबिना डोजर चलाइएको आरोप लगाउँदै आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो।
उहाँका अनुसार जेठ ३ र ४ गते बुटवलमा भएको जनप्रदर्शन र राष्ट्रिय भेलापछि संघर्षका कार्यक्रम तय गरिएको हो। माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन कडा बनाइने उहाँको चेतावनी छ।
संरक्षण समितिका सल्लाहकार संयोजक विरेन्द्र विकले सरकारले पीडितलाई न्याय दिन नसकेको आरोप लगाउँदै प्रारम्भमा सरकारलाई ध्यानाकर्षण गराइने र त्यसपछि आन्दोलन तीव्र पारिने बताउनुभयो।
उहाँले काठमाडौं केन्द्रित प्रदर्शनसँगै सिंहदरबार घेराउ र आवश्यक परे नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरिएको जानकारी दिनुभयो।
समितिका सदस्यहरूले सुकुम्बासी बस्ती हटाउने अभियानका कारण नागरिकहरू विस्थापित भएको, मानसिक तनाव बढेको र राज्यले वैकल्पिक व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्।
उनीहरूले भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने, उचित पुनर्स्थापना गर्ने, क्षतिपूर्ति दिने तथा डोजर अभियान रोक्नुपर्ने १५ बुँदे माग अघि सारेका छन्।
आन्दोलनका प्रतिनिधिहरूले सरकारको नीति र व्यवहारप्रति कडा आपत्ति जनाउँदै तत्काल समाधान नभए देशव्यापी संघर्ष चर्काउने चेतावनी दिएका छन्।








प्रतिक्रिया