गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं, ११ जेठ । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ।

काठमाडौँमा आयोजित ‘मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाएर प्रधानन्यायाधीशले नै पेशी तोक्ने व्यवस्था लागू गरिए न्यायपालिकामा राजनीतिक प्रभाव बढ्ने खतरा रहने चेतावनी दिनुभयो।

उहाँले हाल अभ्यासमा रहेको गोलाप्रथा प्रणाली न्यायिक निष्पक्षता र पारदर्शिताका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई हटाइए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो।

अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति पनि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत राजनीतिक प्रभावका आधारमा नियुक्ति हुने अभ्यासप्रति असन्तुष्टि जनाउनुभयो।

उहाँले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’ जस्ता ट्याग भिराउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति पनि टिप्पणी गर्नुभयो।

उहाँले न्यायपालिकाले वर्तमान अवस्थामा गम्भीर चुनौती सामना गरिरहेको उल्लेख गर्दै कानून व्यवसायीहरूले विवेकपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १९ : २२  बजे