रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन : सरकारका प्रवक्ता

काठमाडौं, ११ जेठ ।सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई प्रधानमन्त्रीसँग जोडेर हेर्न नहुने स्पष्ट पारेको छ।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछानेको भारत भ्रमण पूर्ण रूपमा अलग विषय भएको बताउनुभयो।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले उक्त भ्रमणलाई प्रधानमन्त्रीको सम्भावित विदेश यात्रासँग जोडेर व्याख्या गर्नु गलत हुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “रास्वपा सभापति रवि लामिछाने भारत जाने विषय प्रधानमन्त्रीज्यूको भ्रमणसँग कुनै पनि रूपमा सम्बन्धित छैन।”

मन्त्री पोखरेलले प्रधानमन्त्री अहिले सरकारको प्राथमिक कार्यसूची र १०० दिनको लक्ष्य पूरा गर्ने काममा केन्द्रित रहेको उल्लेख गर्दै तत्काल विदेश भ्रमणको कुनै कार्यक्रम नभएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्रीले आवश्यक समय आएपछि मात्रै विदेश भ्रमण गर्ने योजना रहनेछ।

सरकारका प्रवक्ताले प्रधानमन्त्री हाल पूर्ण रूपमा आन्तरिक कार्यसम्पादनमा केन्द्रित रहेको र भारतसहित कुनै पनि देशको भ्रमण तत्काल तय नभएको स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १९ : १७  बजे