सीमा विवादका कारण कर्णाली करिडोर फेरि अनिश्चितकालीन रूपमा बन्द

काठमाडौं १० जेष्ठ । हुम्ला–बाजुरा सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा पुनः बन्द गरिएको छ। जेठ ५ गते भएको झडपपछि उत्पन्न तनावका कारण स्थानीय समूहले सडक अवरुद्ध गरेका हुन्।

बाजुरा जिल्लास्थित युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कुवाडी सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै पुनः सडक बन्द गरेका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कानुनी कारबाही, घाइतेको उपचार तथा क्षतिपूर्ति, र प्रहरी चौकी निर्माण अघि बढाउनुपर्ने माग राखेका छन्।

यसअघि पनि सोही विवादका कारण जेठ ७ र ८ गते सडक पूर्ण रूपमा बन्द गरिएको थियो। त्यस क्रममा हुम्ला, मुगु हुँदै कैलाश मानसरोवर जाने यात्रुहरू अलपत्र परेका थिए भने स्थानीय व्यवसायसमेत प्रभावित भएको थियो।

बन्द हटाउन जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गरेपछि केही समयका लागि सडक खुलाइएको थियो। तर मागहरू कार्यान्वयन नभएको भन्दै पुनः अनिश्चितकालीन बन्द घोषणा गरिएको हो।

हिमाली युवा समूहले जारी गरेको विज्ञप्तिमा यसअघि सहमति भएका ५–६ बुँदे माग कार्यान्वयन नभएसम्म सडक सञ्चालनमा नआउने स्पष्ट गरिएको छ।

यता हुम्ला जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल भइरहेको जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  १४ : २७  बजे