बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

काठमाडौं, १० जेठ । बाँकेसहित तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। दिउँसोपख चर्को घाम र तातो हावाका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ भने सडकहरू सुनसानजस्तै देखिन थालेका छन्।

गर्मी बढेसँगै चिसो पेय पदार्थ, उखुको जुस र लस्सी पसलमा सेवाग्राहीको भीड बढ्न थालेको छ। अत्यधिक तापक्रमका कारण विद्यालयका बालबालिका, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी का अनुसार शनिबार बाँके क्षेत्रमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। उहाँले बिहीबार यस वर्षकै उच्च ४१ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार जेठ ४ गतेयता लगातार तापक्रम बढ्दो क्रममा रहेको छ। सन् २०१२ जुन १४ मा नेपालगञ्जमा सबैभन्दा बढी ४५ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको पनि उहाँले बताउनुभयो।

गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला विद्युत् आपूर्तिमा देखिएको समस्या थप चुनौती बनेको छ। कम भोल्टेजका कारण पङ्खा, मोटरलगायत विद्युतीय उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ।

नेपालगञ्जका स्थानीय शिवदत्त भट्टले नियमित विद्युत् आपूर्ति नहुँदा दैनिक जीवन निकै प्रभावित भएको बताउनुभयो।

यता नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जयकुमार मिश्र ले कोहलपुर ग्रिड शाखाबाट आउने विद्युत्मा अत्यधिक लोड भएका कारण ‘लो भोल्टेज’ समस्या देखिएको जानकारी दिनुभयो।

उहाँका अनुसार जानकी गाउँपालिकाको बकसपुरमा निर्माणाधीन प्रसारण लाइन सम्पन्न भएपछि दीर्घकालीन रूपमा समस्या समाधान हुने अपेक्षा गरिएको छ।

प्राधिकरणले हालसम्म आठ वटा ट्रान्सफर्मर परिवर्तन गरिसकेको तथा आवश्यक स्थानमा नयाँ फिडर जडान गर्ने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  ०८ : ०३  बजे