काठमाडौं, ९ जेठ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा अबदेखि यात्रुको लगेज (झोला) सुरक्षित राख्न ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ।
यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन उक्त प्रणाली लागू गर्न लागिएको हो।
यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ।
सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला ले हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाइनेछ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिएको सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ।
ट्राफिक प्रहरीका अनुसार यस प्रणालीले यात्रुको सामान सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायातमा हुने लगेज चोरी, झोला हराउने तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ।’
यस्तै, महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको थियो।
‘अब बसमा पनि जहाजमा जस्तै लगेज ट्याग प्रणाली लागू हुनेछ,’ उहाँले भन्नुभयो, ‘यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ।’
ट्राफिक प्रहरीले आगामी दिनमा क्यूआर कोड तथा डिजिटल रेकर्डसमेत जोडेर प्रणालीलाई थप प्रविधिमैत्री बनाउने तयारी भइरहेको जनाएको छ।
यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ समेत सुरु गरेको जनाएको छ। वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको बताइएको छ।








प्रतिक्रिया