रानीसैनमा सीमा विवाद चर्कियो, हुम्ला–बाजुरा तीन दिनदेखि तनावग्रस्त

काठमाडौं, ८ जेठ । हुम्ला र बाजुराको सीमा क्षेत्रमा रहेको रानीसैन–लाम्पाटा च्याचौर क्षेत्र तीन दिनदेखि तनावग्रस्त बनेको छ। लामो समयदेखि विवादित रहेको सीमाक्षेत्रमा प्रहरी चौकी निर्माणको विषयलाई लिएर उत्पन्न विवाद हिंसात्मक बनेपछि राज्यको उपस्थिति र समन्वयमाथि समेत प्रश्न उठ्न थालेको छ।

विवाद त्यसबेला चर्किएको हो जब बाजुरा प्रशासनले लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढायो। उक्त क्षेत्र हुम्लाको भूभागमा पर्ने दाबी गर्दै स्थानीय समूहले विरोध जनाएपछि दुई जिल्लाबीचको विवाद झन् उग्र बनेको हो।

तनावका क्रममा भएको कुटपिटमा ६ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीनु कुँवरलाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याएर उपचार गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन्।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने र सञ्चार सम्पर्क कमजोर भएका कारण घटना ढिलो सार्वजनिक भएको बताइएको छ। स्थानीयका अनुसार गुम्बा गाउँदेखि आधा दिन पैदल हिँडेपछि मात्रै फोन सम्पर्क हुने क्षेत्र पुगिन्छ।

यसैबीच, साइपाल आधार शिविरतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीलाई समेत स्थानीय युवाहरूले लखेटेको भिडियो सार्वजनिक भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा गएको ३६ सदस्यीय टोली पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि रानीसैन पुगेको थियो।

घटनाले संघीय संसदसम्म प्रवेश पाएको छ। सांसद केपी खनाल ले सरकारको ध्यानाकर्षण गराउँदै सीमाविवादका कारण जनप्रतिनिधिमाथि दुर्व्यवहार भएको विषय उठाउनुभयो।

त्यस्तै, बाजुराका सांसद जनकराज गिरी ले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरी चौकी निर्माणमा अराजक समूहले अवरोध गरेको आरोप लगाउनुभयो। हुम्लाका सांसद जयपती रोकाया ले भने बाजुरातर्फबाट कर्णाली राजमार्ग अवरुद्ध गरिएको आरोप लगाउँदै सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो।

दुई जिल्लाबीच लामो समयदेखि कायम सीमा विवाद समाधानका लागि राजनीतिक तहमा छलफल भए पनि अहिलेसम्म ठोस निष्कर्ष ननिस्कँदा स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  ०८ : ५४  बजे