विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान

काठमाडौं, ६ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गर्नुभएको छ । आज संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर मुलुकको समृद्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा तथा मारवाडी समुदायका व्यवसायीहरूलाई सम्बोधन गर्दै मातृभूमि फर्कन आग्रह गर्नुभयो ।

अध्यक्ष ठाकुरले विगतमा आफूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत गराउनुभयो । उहाँले महिलामाथि हुने हिंसा र अपमान अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नहरूले ढिलोचाँडो सजाय भोग्नुपर्ने धारणा राख्नुभयो ।

महिलाको अपमानलाई उहाँले पौराणिक पात्र सीता र द्रोपदीको प्रसङ्गसँग जोड्दै यसलाई समाजको ठूलो पाप र कलङ्कको रूपमा चित्रण गर्नुभयो । अध्यक्ष ठाकुरले भन्नुभयो,‘अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौँ । हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’

राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक नेतृत्व र शक्ति केन्द्रप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले मधेस केन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘युनाइटेड मधेस’ पनि यस प्रक्रियामा साथै रहेको जानकारी दिनुभयो । बैठकमा उहाँले उठाएका कतिपय विषयहरूमा अन्य माननीय सदस्यहरूले स्पष्टीकरण माग गरेपछि उहाँले आफ्ना भनाइ राजनीतिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकताका लागि भएको प्रस्ट पार्नुभएको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १७ : १०  बजे