पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा। बिक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बरु प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले उठाउनु भएको जिज्ञासामाथि जवाफ दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यहाँभित्र पनि जवाफदेहिता छ । प्रेस पनि जिम्मेवार हुनैपर्छ । ’ उहाँले संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेर पनि प्रेस स्वतन्त्रताविरुद्ध जान नसक्ने बताउनुभयो । प्रेस कर्मीलाई उहाँले आफ्नो गरिमा र सीमाभित्र रहेर जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।

सञ्चरमन्त्री डा. तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता बृद्धि गर्न र नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र गौरव गर्न लायक बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले सोअनुसार कार्यक्रम सरकारले ल्याउने बताउनुभयो । त्यस्तै, संगीत र कला क्षेत्रमा पनि सुधारको काम गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो ।

चलचित्र मार्फत मौलिक क्षेत्रलाई प्रोत्साहन गर्ने चलचित्रलाई प्राथमिता दिएर सहुलियत दिने पनि उहाँले जानकारी गराउनुभयो । सोअनुसार बजेट तथा कार्यक्रम प्रस्ताव गरिने पनि उहाँले जानकारी गराउनुभयो । सोहीअनुसार संसदीय विट लिएर समाचार संकलन गर्ने पत्रकारहरुका लागि यथोचित व्यवस्थाका लागि काम भइरहेको र संसद सचिवालयले कतिपय काम गरिसकेको उहाँले बताउनुभयो ।

आगामी दिनमा थप व्यवस्थापनको काम हुने उहाँले विश्वास दिलाउनुभयो । रिमोर्ट वर्क सम्बन्धमा नीतिगत रुपमा कामको तयारी भएको बताउँदै उहाँले एकीकृत सूचना प्रणालीमार्फत काम गर्ने तयारी पनि भएको उहाँले संसद बैठकलाई जानकारी गराउनुभयो । सूचनाको हकलाई प्रत्याभूत गर्ने कामसमेत गरिरहेको बताउँदै उहाँले सूचनामा नागरिकको सहज पहुँच पुगाउनेगरी काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै, सूचना प्रविधिको क्षेत्रलाई प्रवर्धनमा सरकारले काम गरिरहेको र आगामी दिनमा ‘टेक हव’ को रुपमा विकास गरिने बताउनुभयो । दूर्गम क्षेत्रमा सहज इन्टरनेट चलाउनेगरी व्यवस्थापनको काम भइरहेको बताउँदै उहाँले सरकार तीव्ररुपमा काम जारी राखेको बताउनुभयो ।

हरेक दिन हरेक हप्ता र हरेक महिना काम गरिरहेका छौं, त्यसको अनुभूति जनतालाई गराउनेगरी काम भइरहेको छ, उहाँले भन्नुभयो,‘हेटौडा र कोहलपुरमा नयाँ सर्वर राखेर इन्टरनेट र मोबाइल सेवा सहज रुपले सञ्चालन गर्नेगरी काम भइरहेको छ । त्यसको अनुभूति जनताले गर्नुभएको छ ।’

त्यस्तै, डिजिटल भुक्तानीका लागि पनि सरकारले काम गरिरहेको र आगामी एक वर्षभित्र दूर्गमदेखि सहज सबै ठाउँमा स्तरीय मोबाइल नेटवर्क, इन्टरनेटको सहज प्रयोगको व्यवस्था गरिसक्ने उहाँको भनाई छ । फोरजी नेटवर्कको क्षमता बृद्धिको काम पनि भइरहेको भन्दै उहाँले इन्टरनेट सेवा अवरोध न्यूनीकरणका लागि तीव्र रुपले काम गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  १५ : २८  बजे