काठमाडौं, ३ जेठ । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले नयाँ पुस्ताको आवाज सुन्न र उनीहरूलाई राजनीतिमा समेट्न नसकिएको स्वीकार गर्नुभएको छ।
मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय राजनीतिक गतिविधिमा युवा पुस्ताको उपस्थिति घट्दै गएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो।
उहाँले नेकपा एमाले का कार्यक्रमहरूमा ४० वर्षमाथिका सहभागीको संख्या अत्यधिक देखिने गरेको उल्लेख गर्दै युवा पुस्तासँग सम्बन्ध र संवाद कमजोर भएको स्वीकार गर्नुभयो।
“एमालेका कार्यक्रममा ९० प्रतिशतभन्दा बढी सहभागी ४० वर्षमाथिका देखिन्छन्,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताको उपस्थिति कमजोर हुनुमा हाम्रा आफ्नै कमी–कमजोरी खोज्नुपर्छ। हामीले उनीहरूलाई केवल कुराले मनाउन खोज्यौँ, वास्तविक सम्बन्ध बनाउन सकेनौँ।”
मुख्य सचेतक महरले ‘जनताको बहुदलीय जनवाद’ ले युवा उमेर र विचारको समन्वय गर्ने परिकल्पना गरेको स्मरण गराउँदै अहिले पार्टी त्यस लक्ष्यअनुसार अघि बढ्न नसकेको संकेत गर्नुभयो।
उहाँका अनुसार नेता तथा कार्यकर्ताले आफ्नै परिवारका युवालाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा नकारात्मक असर परेको छ।
युवालाई राजनीतिमा आकर्षित गर्न पार्टीले कार्यशैली, भाषा र सञ्चार पद्धतिमा परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो।








प्रतिक्रिया