सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खलल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गर्नुभएको हो । उहाँले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन नपर्ने विकास गर्न खोजिएको आरोप लगाउनुभयो ।

सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजेको टिप्पणी गर्नुभयो। महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने बताउनुभयो । पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नहुने परिपाटी विकास गर्न खोजिएको छ।

अदालतको नेतृत्व गोजीबाट निकाल्न खोजिएको छ। युवाहरू फेरि अधिनायकवादको विरुद्ध संगठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ।’ उहाँले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि समेत प्रश्न गर्नुभयो। उहाँले मन्त्रीहरूले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै केमा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न गर्नुभयो ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार  २१ : ३७  बजे