काठमाडौं, ३ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा एमाले ले सिद्धान्त र व्यवहारबीच उचित तालमेल मिलाउन सके अझै जनविश्वास आर्जन गर्न सक्ने बताउनुभएको छ।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले जननेता मदन भण्डारी ले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान तथा लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको हो।
उहाँले मदन भण्डारी तथा जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन अभिवृद्धि गर्न ऐतिहासिक योगदान पुर्याउनुभएको बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यममार्फत सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ।
“विगतका उपलब्धिसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
उहाँले अहिले देखिएका चुनौतीको सामना गर्न सुदृढ संगठनात्मक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताउनुभयो।
जनअपेक्षा र सुधारप्रतिको चाहनालाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सिद्धान्त र व्यवहारबीच सन्तुलन कायम गर्दै निरन्तर जनविश्वास जित्नुपर्नेमा जोड दिनुभएको छ।








प्रतिक्रिया