मदन–आश्रितको विचार राजनीतिक यात्रामा दीपस्तम्भझैं : केपी ओली

काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को विचार र योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि दीपस्तम्भझैं रहेको बताउनुभएको छ।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थको धरातलमा आधारित वैचारिक मार्गदर्शन भएको उल्लेख गर्नुभयो।

“मदन–आश्रित आज शारीरिक रूपमा हामीमाझ नभए पनि उहाँहरूको विचार, योगदान र राजनीतिक दृष्टि हाम्रो यात्रामा दीपस्तम्भझैं बनेको छ,” अध्यक्ष ओलीले भन्नुभएको छ।

उहाँले ३३ वर्षअघि चितवनको दासढुंगा मा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै समय बित्दै जाँदा अभाव र पीडाको अनुभूति झन् गहिरिँदै गएको बताउनुभयो।

अध्यक्ष ओलीले मदन भण्डारीलाई आफ्नो नेता, सहयोद्धा र निकट साथीको रूपमा स्मरण गर्नुभएको छ भने जीवराज आश्रितलाई कुशल संगठकका रूपमा चित्रण गर्नुभएको छ।

उहाँका अनुसार मदन भण्डारी जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने अग्रणी नेता हुनुहुन्थ्यो। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षासमेत सोही वैचारिक धरातलबाट अघि बढाइएको उहाँको भनाइ छ।

“जनताको बहुदलीय जनवादले आन्दोलनलाई बलियो आवाज दियो, परिवर्तनलाई जनताको जीवनसँग जोड्ने मार्गचित्र दियो,” उहाँले उल्लेख गर्नुभएको छ।

अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि जनताको पक्षमा दृढतापूर्वक उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरित गरिरहेको बताउनुभयो।

२०५० साल जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो। नेकपा एमाले ले उक्त घटनालाई हत्या भन्दै आएको छ। विभिन्न आयोगबाट छानबिन भए पनि घटनाको सत्यतथ्य अझै सार्वजनिक हुन सकेको छैन।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार  ०७ : ३१  बजे