काठमाडौं, ३१ वैशाख । पछिल्ला दिनहरूमा विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ ले गम्भीर आपत्ति जनाएको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसुरको शैलीमा भइरहेको धरपकडले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको जनाएको हो । महासंघका अनुसार यस्ता घटनाले लगानीकर्ता तथा व्यावसायिक समुदायमा नकारात्मक सन्देश प्रवाह भएको छ ।
महासंघले सर्वसाधारणको निक्षेप संकलन गरी सञ्चालन हुने बैंकहरूको कर्जा असुली प्रक्रियासँग सम्बन्धित विषयका आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्नुले बैंकिङ क्षेत्रकै साखमा असर पुग्न सक्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा यस्ता गतिविधिले बैंकिङ क्षेत्रको निर्णय क्षमतामा असर पर्ने, कर्जा प्रवाहमा संकुचन आउन सक्ने तथा त्यसको प्रत्यक्ष प्रभाव समग्र अर्थतन्त्रमा पर्न सक्ने उल्लेख गरिएको छ ।
महासंघले प्रारम्भिक अनुसन्धानअघि नै उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएको छ । अनुसन्धानलाई गोप्य र कानुनी प्रक्रियाअनुसार अगाडि बढाउन आग्रह गर्दै महासंघले यस्ता घटनाले सम्बन्धित व्यक्तिको मान–प्रतिष्ठामा आँच पुग्ने जनाएको छ ।
देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दालाई सोही अनुसार छानबिन र अभियोजन गर्नुपर्ने माग गर्दै महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार मान्न नहुने संवैधानिक व्यवस्थाको समेत स्मरण गराएको छ ।
विगत चार वर्षदेखि शिथिल बनेको अर्थतन्त्र नयाँ सरकार गठनपछि व्यवसायीमैत्री नीति र व्यवहारमार्फत चलायमान बन्ने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्दै महासंघले यस्ता गतिविधिले लगानी विस्तार र लगानीकर्ताको आत्मविश्वासमा असर पार्न नहुने जनाएको छ ।
महासंघले सरकारलाई व्यावसायिक आत्मविश्वास अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न समेत आग्रह गरेको छ ।








प्रतिक्रिया