काठमाडौं, ३१ वैशाख । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध ‘अतिगोप्य’ उल्लेख गरिएको एउटा उजुरी दर्ता भएको छ ।
संसदीय सुनुवाइ समितिमा बिहीबार मात्रै दुई वटा नयाँ उजुरी परेकोमध्ये एउटामा ‘अतिगोप्य’ लेखिएको स्रोतले जनाएको छ । यससँगै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरीको संख्या पाँच पुगेको छ । बुधबारसम्म तीन वटा उजुरी परेका थिए ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समिति ले प्रधानन्यायाधीश नियुक्तिको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले जेठ ४ गतेसम्म उजुरी दिन सकिने गरी १० दिने समयसीमा दिएको छ ।
संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले उजुरी आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले उजुरीको विषयवस्तुबारे भने अहिले सार्वजनिक रूपमा टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।
चौथो वरीयतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयलाई लिएर विपक्षी दलहरूले सुरुदेखि नै असहमति जनाउँदै आएका छन् । प्रस्तावित नियुक्तिमाथि संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा लगातार उजुरी पर्न थालेपछि यसले राजनीतिक तथा न्यायिक वृत्तमा थप चासो बढाएको छ ।








प्रतिक्रिया