मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं, २९  वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता  ज्ञानेन्द्र शाही ले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले मानवीय संवेदनामाथि प्रहार गरेको आरोप लगाउनुभएको छ।

राज्यको असंवेदनशील व्यवहारले नागरिकको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि चोट पुगेको भन्दै उहाँले सरकार र प्रधानमन्त्रीमाथि कडा प्रश्न उठाउनुभयो।

“राज्य जहिले पनि शक्तिशालीको पक्षमा मात्रै उभिने होइन,” उहाँले भन्नुभयो, “बागमती किनारकी १० दिनकी सुत्केरी महिलाको घरमा प्रहरी पस्दा र डोजर चलाउँदा कस्तो पीडा भयो होला भन्ने सरकारलाई बुझ्नुपर्छ।”

उहाँले आफू अव्यवस्थित बस्तीको पक्षमा नरहेको स्पष्ट पार्दै उचित व्यवस्थापनबिना डोजर चलाउनु अमानवीय भएको बताउनुभयो।

“मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन,” उहाँले भन्नुभयो, “सरकारका मन्त्रीहरूलाई नै २४ घण्टाभित्र घर खाली गर्न भनियो भने सम्भव हुन्छ ?”

सुकुम्बासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्ष बेवास्ता गरेको आरोप लगाउँदै उहाँले प्रभावित परिवारको अवस्था बुझ्न सरकारलाई आग्रह गर्नुभयो।

त्यस्तै मन्त्रिपरिषद्का केही सदस्यसमेत ‘हुकुमबासी’ रहेको विषय सार्वजनिक भएको दाबी गर्दै त्यसबारे छानबिन किन नभएको भन्दै उहाँले प्रश्न उठाउनुभयो।

पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानको विषयलाई लिएर संसद् र सडक दुवैतर्फ सरकारको आलोचना बढिरहेका बेला शाहीको अभिव्यक्ति आएको हो।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार  २० : १७  बजे