काठमाडौं, २९ वैशाख । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्य तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी का अनुसार भेटवार्तामा स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारले गर्दै आएको सहयोगका विषयमा पनि विचार आदानप्रदान भएको थियो।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
भेटका क्रममा राष्ट्रियस्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।








प्रतिक्रिया