देशको आर्थिक स्थितिपत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको दिन गत चैत १३ मा अर्थतन्त्रको स्थितिपत्र जारी गर्ने निर्णय गर्नुभएको थियो ।

सोहीबमोजिम गत वैशाख १ गते स्थितिपत्र प्रकाशन भएकामा आज सरकारको एक महिना पूरा भएपछि सार्वजनिक गरिएको हो ।वाग्लेले विद्यमान आर्थिक, सामाजिक र शासकीय अवस्थाको यथार्थपरक चित्रण गर्दै आगामी कार्यदिशा निर्माणमा सहयोग पुगोस् भनेर स्थितिपत्र जारी गरिएको बताउनुभएको छ ।

स्थितिपत्रमा पश्चिम एसियाको द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थप्ने देखिएको उल्लेख गरिएको छ । साथै कुल रेमिट्यान्सको ३७।४ प्रतिशत हिस्सा ओगट्ने पश्चिम एसियाको अस्थिरताले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको बताइएको छ ।यस्तै छिमेकी राष्ट्रहरूको तुलनामा यो आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि निकै सुस्त हुने उल्लेख छ । आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत रहेको आर्थिक वृद्धि यो वर्ष ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसैगरी अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको भन्दै औद्योगिकीकरणको कमजोर अवस्था स्विकार गरिएको छ ।पर्यटन क्षेत्रमा प्रचुर सम्भावना र पूर्वाधार विकास हुँदै गए पनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको पनि स्विकार गरिएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  १८ : ४८  बजे