काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले आफ्नो नाममा रहेको जग्गा अतिक्रमण भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) सहित १८ वटा संस्था र संगठनलाई ३५ दिनभित्र जग्गा खाली गर्न अल्टिमेटम दिएको छ।
विश्वविद्यालयले ४ वैशाखमा सूचना जारी गर्दै त्रिवि परिसर तथा आसपासका क्षेत्रमा प्रयोग भइरहेको अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअनुसार सम्बन्धित निकायहरूलाई पत्राचार गरेको हो। त्रिविका अनुसार क्यानसँगको सम्झौता यही महिनाको अन्त्यसँगै समाप्त हुँदैछ।
त्रिवि स्रोतका अनुसार कीर्तिपुर परिसरभित्र र बाहिर रहेका विभिन्न संरचना तथा जग्गा उपयोगबारे गठित खोजबिन समितिको प्रतिवेदनपछि यो कदम चालिएको हो। समितिले करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको र कतिपय स्थानमा भाडा समेत नउठेको निष्कर्ष निकालेको थियो।
प्रतिवेदनमा लेबोरेटरी माध्यमिक विद्यालय, नेपाल क्रिकेट संघ (क्यान), खानेपानी बोर्ड, नेपाल प्राध्यापक संघ, कीर्तिपुर नगरपालिका तथा सार्वजनिक संरचनाहरू समेत त्रिविको जग्गामा रहेको उल्लेख गरिएको छ। केही संस्थाले आवश्यक स्वीकृति बिना संरचना निर्माण गरेको पनि समितिले जनाएको छ।
त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार सबै संस्थालाई समान रूपमा ३५ दिनको समय दिइएको छ। समयभित्र जग्गा खाली नभए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले भने त्रिविबाट पत्र प्राप्त भएको पुष्टि गर्दै विषयमा आन्तरिक छलफलपछि मात्र प्रतिक्रिया दिने जनाएको छ।
खोजबिन समितिले विश्वविद्यालयका सम्पत्ति संरक्षणमा निरन्तर लापरबाही हुँदै आएको र कतिपय अवस्थामा राजनीतिक संरक्षणमा अतिक्रमण बढेको आशंका समेत व्यक्त गरेको छ।








प्रतिक्रिया