कांग्रेसभित्र किचलो चर्किँदै, नेता चयन अझै अलपत्र

काठमाडौं, १३ वैशाख । सांसदहरूले शपथ लिएको एक महिना बितिसक्दा पनि संसदीय दलको नेता चयन गर्न नसक्दा नेपाली कांग्रेसभित्र नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ। आन्तरिक मतभेदका कारण प्रक्रिया अन्योलमा पर्दा पार्टीको निर्णय क्षमता र एकतामाथि चिन्ता बढेको हो।

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच तालमेल नहुँदा नेता चयनमा ढिलाइ भएको नेताहरूको भनाइ छ। सुरुमा सहमति नभए निर्वाचनमार्फत टुंग्याउने बताइए पनि अन्तिम समयमा प्रक्रिया स्थगित भएपछि विवाद थप गहिरिएको छ।

संसदीय दलको नेता चयन नहुँदा सरकारसँग समन्वय, नीति निर्माण र संसदीय गतिविधिमा समेत असर परेको सांसदहरूले बताएका छन्। पार्टीभित्रै विभाजनको रेखा कोरिने र अविश्वास बढ्ने जोखिम बढ्दै गएको एक नेताले बताएका छन्।

हाल अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे र मोहन आचार्य प्रमुख दाबेदारका रूपमा देखिएका छन्। तर, कसलाई अघि सार्ने भन्ने विषयमा शीर्ष नेतृत्वबीच नै मतभेद देखिँदा सहमति जुट्न सकेको छैन।

सभापति थापा प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन् भने उपसभापति शर्मा आङ्देम्बेलाई अघि सार्नुपर्ने पक्षमा देखिएका छन्। यसले पार्टीभित्र विभिन्न समूहबीच ध्रुवीकरण बढाएको छ।

सर्वसम्मतिबाटै नेता चयन गर्ने प्रयास भइरहे पनि निरन्तर ढिलाइले पार्टीको छवि कमजोर बन्ने चिन्ता व्यक्त गरिएको छ। अबको केही दिनभित्र सहमति नजुटे प्रक्रिया थप जटिल बन्ने र नेतृत्वमाथि दबाब अझै बढ्ने देखिएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार  ०७ : १३  बजे