काठमाडौं, १३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गर्नुभएको छ । इरानको प्रतिनिधिमण्डल इस्लामावादबाट निस्केको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गर्नुभएको बीबीसीले जनाएको छ ।
यसैबीच, इरानी विदेश मन्त्री अब्बास अरागची इस्लामावादबाट फर्किनुभएको छ । उहाँले आफ्नो इस्लामावाद भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुभएको हो । अरागची ओमानको राजधानी मस्कट गएको एएफपीले जनाएको छ ।
मध्यपूर्व युद्ध अन्त्य गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारको आगमन हुनुअघि इरानका विदेशमन्त्री हिजो इस्लामावादबाट बाहिरिनुभएको हो । इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिनुभएको छ ।
उहाँले युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानमाथि ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा देशको सैद्धान्तिक अडानबारे जानकारी गराउनुभएको हो । पाकिस्तान भ्रमणमा रहनुभएका विदेशमन्त्री अराघचीले आफ्ना अडान पेश गरी इस्लामावाद छाड्नुभएको हो ।








प्रतिक्रिया