सुकुमवासी बस्ती हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौँ, ११ वैशाख । सरकारले देशका विभिन्न स्थानमा सुकुमवासी बस्ती हटाउने कार्य अघि बढाएकोप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाउनुभएको छ।

साम्पाङले जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदम नेपालको संविधानको धारा ३७ (१) विपरीत रहेको उल्लेख गर्दै खेद प्रकट गर्नुभएको छ। उहाँले बासस्थान भत्काउने कार्य तत्काल रोक्न र प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति तथा व्यवस्थित पुनर्बासको सुनिश्चितता गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ।

विज्ञप्तिमा जनताको घर भत्काउने, जबर्जस्ती बेघर बनाउने, दुर्व्यवहार गर्ने तथा सुरक्षाकर्मीमार्फत डर–त्रास सिर्जना गर्ने गतिविधि संविधानको धारा १६ (१) को उल्लंघन भएको दाबी गर्नुभएको छ। यस्ता गतिविधिले सरकारको निरंकुश चरित्र उजागर गरेको र लोकतन्त्रका मूल्य–मान्यतामाथि गम्भीर आघात पुगेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीहरू राज्यकै जानकारी तथा सहमतिमा विस्तार भएको हुन सक्ने बताउँदै समयमै व्यवस्थापन नगर्दा समस्या जटिल बनेको धारणा राख्नुभएको छ। सार्वजनिक जग्गा खाली गराउने नाममा नागरिकलाई विस्थापित गर्नु अघि उनीहरूको जीवनयापन सुनिश्चित गर्नु राज्यको दायित्व भएको उहाँले जोड दिनुभएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  ०९ : २७  बजे