माग घटेपछि बुलेटमै थन्कियो ग्यास, उद्योगी चिन्तित

काठमाडौं, ५ वैशाख । बजारमा एलपी ग्यासको माग उल्लेख्य रूपमा घटेपछि ग्यास उद्योगमा नयाँ समस्या देखिएको छ। आधा तौलको सिलिन्डर वितरण गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दै जाँदा ग्यास बुलेटमै थन्किन थालेको उद्योगीहरूले बताएका छन्।

नेपाल आयल निगम का अनुसार सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा पछिल्लो १५ दिनमा मात्र १८ हजार मेट्रिक टन ग्यास आयात भएको छ। खपत घटेसँगै आयातमा पनि कमी आएको निगमले जनाएको छ।

सरकारले गत फागुन २८ गतेदेखि आपूर्ति सहज बनाउन आधा तौल (करिब ७.१ केजी) का सिलिन्डर वितरण गर्न निर्देशन दिएको थियो। तर नेपाल एलपी ग्यास उद्योग सङ्घ ले सो निर्णयले उल्टै समस्या निम्त्याएको बताएको छ।

सङ्घका अध्यक्ष दिवान चन्द का अनुसार आधा सिलिन्डर वितरण गर्दा खाली सिलिन्डर अभाव भएको छ, जसका कारण नयाँ ग्यास रिफिल गर्न नसकिँदा बुलेटमै ग्यास होल्ड गर्नुपरेको छ। “अहिले बजारमा ग्यासको खपत करिब ५० प्रतिशतले घटेको छ,” उनले भने, “खाली सिलिन्डर नहुँदा बुलेटमै ग्यास थन्किएको अवस्था छ।”

ढुवानी लागत पनि उद्योगीका लागि अर्को चुनौती बनेको छ। पूर्ण सिलिन्डर ढुवानी गर्दा लाग्ने करिब २० हजार रुपैयाँ भाडा आधा तौल ढुवानी गर्दा पनि उस्तै लाग्ने भएकाले व्यवसायीको आर्थिक भार बढेको सङ्घको भनाइ छ।

सङ्घका अनुसार हाल उद्योगहरूमा १२ देखि १३ हजार मेट्रिक टन ग्यास मौज्दात छ भने करिब ३५० बुलेटमा थप ग्यास थन्किएको छ। एक बुलेटमा करिब १८ मेट्रिक टन ग्यास अट्ने गर्दछ।

निगमका प्रवक्ता मनोज ठाकुर ले खपत घटेकै कारण आयात घटेको स्पष्ट पारे। “अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्ने हुन्छ, तत्काल पूर्ण सिलिन्डरमा फर्किन सकिने अवस्था छैन,” उनले भने।

त्यस्तै, ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्याल ले उपभोक्तासँगै ग्यास ‘होल्ड’ भइरहेकाले अब पुनः १४.२ केजीको पूर्ण सिलिन्डर वितरणतर्फ जानुपर्ने आवश्यकता देखिएको बताए।

निगमका अनुसार हाल बजारमा करिब १ करोड ४२ लाख ग्यास सिलिन्डर रहेका छन्। आधा तौलको सिलिन्डरको मूल्य १,००५ रुपैयाँ र पूर्ण सिलिन्डरको मूल्य २,०१० रुपैयाँ कायम छ।

बिजुलीको प्रयोग बढ्दै जाँदा र नीतिगत निर्णयको प्रभावसँगै ग्यास बजारमा माग–आपूर्तिको सन्तुलन बिग्रिएको देखिएको छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार  ०७ : १९  बजे