महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं, २ वैशाख । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टोलीको बिदाइ गरेको हो । नेपाली टोली बुधबार नै रुवान्डा प्रस्थान गरेको छ । प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटलीले प्रतिस्पर्धा गर्नेछन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार अमेरिकासँग खेल्नेछ । यस्तै दोस्रो खेल वैशाख ६ गते इटाली, तेस्रो खेल ९ गते रुवान्डासँग, ११ गते भानुआटु, १३ गते अमेरिकासँग, १५ गते रुवान्डा, १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्नेछ ।

प्रमुख प्रशिक्षक हर्षल पाठकले यसअघि नै प्रतियोगिातका लागि १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा बिन्दु रावल, सम्झना खड्का, पूजा महतो, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय र रचना चौधरी हुनुहुन्छ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १४ : ४१  बजे