अर्थमन्त्रीसँग चार घर–अपार्टमेन्ट, बैंकमा १ करोड ९० लाख मौज्दात

काठमाडौं,  चैत २९ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरणअनुसार उहाँसँग चार ठाउँमा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ भने साढे ३ करोड रुपैयाँभन्दा बढी ऋण दायित्व पनि उल्लेख गरिएको छ।

सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट रहेको छ। त्यसैगरी ललितपुरमै ५ करोड रुपैयाँ मूल्यको अर्को घर, काभ्रेमा ३ करोड ७५ लाख रुपैयाँ मूल्यको अपार्टमेन्ट, तथा तनहुँमा २ करोड रुपैयाँ बराबरको घर रहेको उल्लेख गरिएको छ।

बैंक मौज्दाततर्फ उहाँको १ करोड ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको विवरणमा जनाइएको छ।

शेयर लगानीतर्फ विभिन्न पाँच कम्पनीमा ४ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको उल्लेख गरिएको छ। विवरणअनुसार सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता तथा सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता शेयर रहेको देखाइएको छ।

यसैगरी नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, ठूलो खोला र अपर मादी खोलामा क्रमशः ९० लाख, ६० लाख र ३ करोड रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख गरिएको छ।

ऋणतर्फ राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ, तथा व्यक्तिगत सापटीमार्फत २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ।

यसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट लिइएको ३८ लाख र ७५ लाख रुपैयाँ भने चुक्ता गरिसकेको विवरणमा उल्लेख छ।

त्यसैगरी अर्थमन्त्री वाग्लेसँग ४५ तोला सुन रहेको पनि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा जनाइएको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  २१ : ०३  बजे