काठमाडौं, २९ चैत । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरणअनुसार उहाँको ८ वटा बैंकमा ८० लाख ४० हजार ११७ रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ।
सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको काठमाडौंमा दुई वटा घर रहेका छन्। एउटा घर काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा उहाँकै नाममा रहेको छ भने अर्को घर वडा नम्बर १३ मा विकास श्रेष्ठको नाममा रहेको उल्लेख गरिएको छ। पहिलो घर दुई आना र दोस्रो चार आना क्षेत्रफलमा फैलिएको जनाइएको छ। ती घरहरू सगोलको सम्पत्ति बिक्री गरेर निर्माण गरिएको उहाँले उल्लेख गर्नुभएको छ।
बैंक मौज्दाततर्फ ८ वटा बैंकमा कुल ८० लाख ४० हजार ११७ रुपैयाँ रहेको विवरणमा जनाइएको छ। तीमध्ये ६ वटा बैंकमा रहेको रकमको स्रोत स्वआर्जन उल्लेख गरिएको छ। त्यसैगरी, सिनर्जी कोअपरेटिभ लिमिटेडमा रहेको १५ लाख रुपैयाँ पैतृक र अर्को २५ लाख रुपैयाँ पैतृक, विवाह तथा स्वआर्जनबाट प्राप्त भएको उल्लेख गरिएको छ।
यसैगरी मन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको देखाइएको छ। सुनचाँदीको स्रोत पैतृक तथा विवाह जनाइएको छ।
शेयर लगानीतर्फ विभिन्न कम्पनीका २० हजार ९ सय ७८ कित्ता शेयर, जसको मूल्य १ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ।
ऋणतर्फ उहाँले बुवाबाट २० लाख रुपैयाँ, नबिल बैंकबाट गाडी खरिदका लागि ३० लाख रुपैयाँ, तथा सिनर्जी कोअपरेटिभबाट ३५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख गर्नुभएको छ।
सवारी साधनतर्फ साढे ८ लाख रुपैयाँमा खरिद गरिएको ल्यान्डक्रुजर, २ लाख ४६ हजार रुपैयाँको स्कुटर, तथा १९ लाख रुपैयाँको विद्युतीय गाडी रहेको देखाइएको छ।
त्यसैगरी, मन्त्री श्रेष्ठसँग ३० लाख रुपैयाँ बराबरका ब्रान्डेड घडीहरू रहेको उल्लेख गरिएको छ, जसले सार्वजनिक रूपमा विशेष चासोको विषय बनेको छ।







प्रतिक्रिया