आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

काठमाडौं, २९ चैत्र ।आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायोचेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।चेन्नईमा हिजो पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो ।

चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक बनाए । उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित ११५ रन जोडे । त्यस्तै आयुष म्हात्रेले ५९ रन जोडे । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए । २१३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए । चेन्नईका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए ।

त्यस्तै अंशुल काम्बोजले ३ विकेट लिए । हिजै भएको पहिलो खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । चण्डीगढमा हैदराबादले दिएको २२० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर २२३ रन बनाउँदै पूरा गर्‍यो । पञ्जाबका कप्तान श्रेयस अयरले ३३ बलमा समान ५ छक्का र चौकासहित अविजित ६९ रन बनाउँदै टोलीलाई जित दिलाए । यसअघि ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले अर्धशतक बनाए । पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ८ छक्का र ५ चौकासहित ७४ रनको आक्रामक पारी खेले ।पञ्जाबका लागि शशांक सिंहले बलिङमा महत्त्वपूर्ण भूमिका खेल्दै ३ ओभरमा २० रन दिएर २ विकेट लिए ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  ०७ : ३१  बजे