काठमाडौं, २८ चैत्र । इरानसँग वार्ता गर्न इस्लामाबाद पुग्नुभएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गर्नुभएको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्ति अनुसार भेटमा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिकाबीचको वार्ता मध्यपूर्व क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र ज्यारेड कूश्नर पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री शरिफसँग पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री र आन्तरिक मामिलामन्त्री सहभागी थिए ।
त्यसअघि इस्लामाबाद पुगेका इरानका सभामुख महोम्मद बगेर गालीबाफको नेतृत्वमा विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारीहरूले पनि पाकिस्तानका प्रधानमन्त्री शरिफसँग भेटवार्ता गरेका छन् । भेटमा इरानी अधिकारीहरुले इरानका सर्तहरू अस्वीकार गरिएको खण्डमा वार्ता रद्द हुनसक्ने बताएका छन् ।
६ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका हुन् । दुवै पक्षका प्रतिनिधि इस्लामाबाद पुगे पनि यो वार्ता प्रत्यक्ष भने हुनेछैन । दुवै पक्ष इस्लामाबादको जिन्हा सम्मेलन केन्द्रमा बेग्लाबेग्लै कक्षमा बस्ने र पाकिस्तानी मध्यस्थकर्ताहरूले सन्देश आदानप्रदान गराउने बीबीसीले जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि शुरू भएको यो युद्ध मध्यपूर्वका अन्य देशमा पनि फैलिएको छ । गएको मङ्गलवार राष्ट्रपति ट्रम्पले दुई हप्ते युद्धविरामको प्रस्तावमा हस्ताक्षर गरेपछि यो वार्ता सम्भव भएको हो ।
इरान अहिले शान्त रहे पनि इजरायलले लेवनानमा आक्रमण जारी राखेकाले इरानले हर्मुज जलमार्गमा अवरोध कायम राखेको छ । वार्तामा अमेरिकाले इरानद्वारा आणविक हतियारको महत्वाकांक्षा त्याग्नुपर्ने र हर्मुज मार्ग सुचारु गर्नुपर्ने माग राखेको छ ।
इरानले भने आफूमाथिको आक्रमण बन्द गर्नुपर्ने, युद्ध क्षतिपूर्ति, अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा र ओमानसँग मिलेर हर्मुजमा शुल्क उठाउन पाउनुपर्ने माग अघि सारेको छ । पाकिस्तानले यो वार्तामा आफ्नो भूमिकालाई लिएर उत्सव मनाइरहेको छ ।
राजधानीका सडकमा अमेरिका र इरानका झन्डाबीच पाकिस्तानको प्रतीकचिन्ह अंकित डिजिटल बोर्डहरू सजाइएका छन् र सरकारले दुई दिने सार्वजनिक बिदा समेत घोषणा गरेको छ । मध्यस्थताको यो भूमिकाले पाकिस्तानलाई एकातिर कूटनीतिक प्रतिष्ठा दिएको छ भने अर्कातिर छिमेकी इरानसँगको युद्धमा तानिने जोखिमबाट पनि जोगाएको छ ।







प्रतिक्रिया