१३ दिनपछि रिहाइपछि पूर्वप्रधानमन्त्री ओलीको प्रतिक्रिया : ‘मुद्दा चलाउने आधार नपुगेपछि अन्ततः रिहा भएँ’

काठमाडौं, २६ चैत । १३ दिनको हिरासतपछि रिहा हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाउनुभएको छ ।

रिहाइपछि जारी गर्नुभएको वक्तव्यमा उहाँले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।”

रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु ।”

प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा स्वास्थ्योपचारमा संलग्न Tribhuvan University Teaching Hospital परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ ।

यसैबीच, आफ्नो रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका समर्थकमाथि भएको दमनप्रति पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च राज्यले बेहोर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले थप उल्लेख गर्नुभएको छ, “यदि राज्य यसमा उदासीन रह्यो भने पार्टीले नै उपचार खर्च बेहोर्नेछ ।”

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उहाँले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

ओलीको यो वक्तव्य सार्वजनिक भएसँगै रिहाइपछि नेपालको राजनीतिक वृत्तमा थप तरंग पैदा भएको छ । एमालेले यस घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ भने सरकार पक्षले भने अनुसन्धान कानुनी प्रक्रियाअनुसार अघि बढाइएको बताउँदै आएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  ०८ : ५७  बजे