पीएम कप क्रिकेटमा आर्मी र पुलिस विजयी

काठमाडौं, २६ चैत्र ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।जनकपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य आर्मीले २० ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । आर्मीका विनोद भण्डारीले १०० रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३८ ओभर १ बलमा १५० रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका नारायण जोशीले ६३ रन बनाए । आर्मीका बसिर अहमदले ५ विकेट लिए ।योसँगै आर्मी ७ खेलमा ६ जीतसहित १३ अङ्क जोडर तालिकाको शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिम ८ खेलमा ५ जीतसहित १० अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै वीरगञ्जमा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४८ रनले हरायो । पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५ ओभर २ बलमा २१३ रन बनाउँदा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले ४६ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । पुलिसका दिनेश खरेलले ८२ रन बनाए । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए ।योसँगै पुलिस ७ खेलमा ४ जीतसहित ९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ८ खेलमा १ जीत र १ बराबरीसँगै ३ अङ्क जोडेर नवौँ स्थानमा छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  २१ : २९  बजे