सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

काठमाडौं, २६ चैत्र । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, पोखरेल तथा महराका छोरा राहुलसहित २८ जना र एउटा कम्पनीलाई प्रतिवादी बनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

२०७९ साल पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारतको महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा छन् । २०६३ सालमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका महरा पछि उपप्रधानमन्त्रीसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय सम्हाल्दै सभामुख पनि बनेका थिए ।

पहिलो संविधानसभा चुनावलगत्तै चिनियाँसँग ‘नेपालमा सांसद खरिद–बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो सार्वजनिक भएपछि महरा विवादमा तानिएका थिए । यस्तै २०७४ सालमा प्रतिनिधिसभाको सभामुख बनेका उनले संसद् सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कार गरेको आरोपमा बालुवाटारमा रहेको सभामुख निवासबाटै पक्राउ परेका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १७ : ३८  बजे