पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

काठमाडौं, २६ चैत : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि प्रहरी हिरासतबाट रिहा हुनुभएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उहाँलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।

प्रहरीका अनुसार बाँकी स्वास्थ्यसम्बन्धी निर्णय अब चिकित्सकको सिफारिस र अवस्थाअनुसार हुने बताइएको छ।

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उहाँलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। त्यसपछि जटिल स्वास्थ्य अवस्थाका कारण उहाँ त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहनुभएको थियो।

पक्राउलगत्तै उहाँकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको थियो।

यसैबीच सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो।

अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न स्पष्ट निर्देशन दिएको थियो। सोही आदेशअनुसार आज उहाँलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

ओलीमाथिको अनुसन्धान भने कानुनी प्रक्रियाअनुसार जारी रहने बताइएको छ।

यो घटनाक्रमसँगै जेन–जी आन्दोलन प्रकरणमा सरकार, अदालत र प्रमुख राजनीतिक दलहरूबीचको बहस अझ तीव्र बनेको छ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  ११ : १३  बजे