काठमाडौं, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार दुवै जनालाई जिम्मा जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको हो।
उहाँका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंबाट समेत सहमति प्राप्त भइसकेको छ।
एसपी भट्टराईले भन्नुभयो, “हामी अब उहाँहरूलाई उहाँहरूको सबैभन्दा नजिकको व्यक्तिको जिम्मामा छाड्छौँ।”
प्रहरीले दुवै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। पछिल्लो पटक थपिएको पाँच दिनको म्याद सकिएसँगै आज रिहा गर्ने निर्णय भएको हो।
यसअघि चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनीलकुमार पोखरेलको इजलासले थप म्याद नथप्न परमादेश जारी गरेको थियो।
दुवै नेताले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिट खारेज भए पनि सर्वोच्चले तेस्रो पटक थपिएको म्यादपछि पुनः हिरासतमा नराख्न स्पष्ट आदेश दिएको थियो।
अदालतले अनुसन्धान निर्धारित अवधिभित्र टुंग्याएर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको छ। तर अनुसन्धान अझै नसकिएकाले हालका लागि हाजिर जमानीमा छाड्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
ओली र लेखकलाई चैत १४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो। जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्को निर्णयपछि दुवै जनामाथि अनुसन्धान सुरु गरिएको थियो।
सर्वोच्चले म्याद नथप्ने चार आधार प्रस्तुत गरेको छ। यसमा तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई जिम्मा जमानीमा छाडिएको तथ्य, दुवै जना पारिवारिक शोकमा रहेको अवस्था, ओलीको स्वास्थ्य उपचार तथा सरकारी वकिलद्वारा बयान लिइसकिएको अवस्था मुख्य आधारका रूपमा उल्लेख गरिएको छ।
यस निर्णयसँगै दुवै नेतामाथिको अनुसन्धान भने कानुनी प्रक्रियाअनुसार जारी रहने प्रहरीले जनाएको छ।








प्रतिक्रिया