भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौं, २४ चैत । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको निर्णयअनुसार सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन सोमबार औपचारिक पत्राचार गरिएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे तथा दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ रहेका छन्।

सरकारको निर्णयसँगै यी ६ देशमा कार्यरत राजदूतहरूलाई तोकिएको समयभित्र जिम्मेवारी हस्तान्तरण गरी स्वदेश फर्किन भनिएको छ।

परराष्ट्र मन्त्रालयले यसलाई मन्त्रिपरिषद्को नियमित प्रशासनिक निर्णयअन्तर्गत भएको जनाएको छ।

ओली नेतृत्वको सरकारले कुल ३४ कूटनीतिक मिसनमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो। तीमध्ये यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले ११ देशका राजदूतलाई गत कात्तिकमै फिर्ता बोलाइसकेको थियो।

अब बाँकी रहेका ६ राजनीतिक नियुक्ति राजदूतलाई पनि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलाएको हो।

यो निर्णयलाई वर्तमान सरकारले आफ्नो कूटनीतिक संरचना पुनर्संयोजन र नयाँ नियुक्तिको तयारीका रूपमा हेरिएको छ।

राजनीतिक वृत्तमा भने यसलाई सत्ता परिवर्तनसँगै हुने नियमित कूटनीतिक पुनर्संरचनाका रूपमा व्याख्या गरिएको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  १० : ५१  बजे