काठमाडौं, २१ चैत्र । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराई ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै शक्तिशाली दलका रूपमा उदाएको विषय गम्भीर खोजतलासको विषय भएको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तर्क्रिया कार्यक्रम मा बोल्दै उहाँले रास्वपाले निर्वाचनमा चमत्कारिक नतिजा ल्याएको उल्लेख गर्दै त्यसको पृष्ठभूमि र कारणबारे गहन अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “आजको शक्तिशाली दल धेरै फरक ढंगले आएको छ। उसको उदयको तरिका नै चमत्कारिक छ। त्यससँग के–के जोडिएका छन्, त्यो खोजतलासको विषय बाँकी नै छ।”
भट्टराईले मुलुकमा पछिल्लो समय भूराजनीतिक संवेदनशीलता बढ्दै गएको उल्लेख गर्दै राजनीतिक दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताउनुभयो।
उहाँका अनुसार दलहरूबीच आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि राष्ट्रिय हित, विदेश नीति र मुलुकको दीर्घकालीन स्थायित्वका सवालमा साझा समझदारी आवश्यक छ।
उहाँले विदेश नीतिबारे खुला सार्वजनिक बहस र दलहरूबीच तत्काल संवाद सुरु गर्नुपर्नेमा जोड दिनुभयो।
भट्टराईले भन्नुभयो, “दलहरूबीच प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर भूराजनीतिक संवेदनशीलताबाट देशलाई जोगाउन राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प छैन।”
रास्वपाको उदय र त्यसले पारिरहेको राजनीतिक प्रभावबारे एमाले नेताबाट आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो निर्वाचनपछि रास्वपा संसदमा निर्णायक शक्तिका रूपमा उभिएको छ भने यसले परम्परागत दलहरूलाई नयाँ चुनौतीसमेत दिएको विश्लेषण भइरहेको छ।







प्रतिक्रिया