आर्टिमिस–२ ले आधा बाटो पार गर्‍यो :पृथ्वीका सुन्दर तस्वीर सार्वजनिक

एजेन्सी । झन्डै साढे ५ दशकपछि मानिस लिएर चन्द्रमातर्फ गइरहेको अन्तरिक्षयान आर्टिमिस–२ ले चन्द्रमासम्मको आधा बाटो पार गरेको छ । आज नेपाली समयानुसार बिहान पौने १२ बजेतिर नासाको ड्यासबोर्डमा ओरिअन अन्तरिक्षयान पृथ्वीबाट २ लाख २८ हजार ५ सय किलोमिटर पर पुगेको देखिएको छ ।

त्यहाँबाट चन्द्रमा २ लाख १२ हजार ४ सय किलोमिटरको दूरीमा रहेको देखिन्छ । अन्तरिक्षयात्री क्रिस्टिना कोखले पृथ्वीबाट गएको २ दिन, ५ घण्टा र २४ मिनेटपछि आधा बाटो पुगेको जानकारी पाएपछि यानमा सवार सबैले खुशी अभिव्यक्त गरेको बताउनुभएको नासाले उल्लेख गरेको छ ।

नासाले आधा बाटोमा पुगेपछि अन्तरिक्षयात्रीले खिचेको पृथ्वीको उच्च गुणस्तरको तस्वीर पनि सार्वजनिक गरेको छ । नासाका अनुसार त्यो तस्वीर पृथ्वीको सबभन्दा नजिकको खगोलीय छिमेकीतर्फको मार्गमा पुगेपछि यानका कमान्डर रिड वाइजमनले खिच्नुभएको हो ।

हेलो, वर्ल्ड नाम दिइएको पहिलो फोटोमा विशाल नीलो भाग देखिन्छ जुन आन्ध्र महासागर हो । त्यसमा पृथ्वीले सूर्यलाई छेकिदिँदा वायुमण्डलको तेज र दुई ध्रुवतिर हरिया अरोरा देखिन्छन् ।

फोटोमा पृथ्वी उल्टो जस्तो देखिन्छ, जसमा पश्चिम सहारा र आइबेरियन प्रायद्वीप बायाँपट्टि देखिन्छ भने दक्षिण अमेरिकाको पूर्वी भाग दायाँपट्टि देखिन्छ । दायाँपट्टि तलतिर देखिने चम्किलो ग्रह बुध भएको नासाले जनाएको छ । अन्तरिक्षयात्रीहरूले शुक्रवार ट्रान्स–लुनार इन्जेक्सन बर्न प्रक्रिया सफलतापूर्वक गरेपपछि फोटो खिचेका हुन् ।

अब आर्टिमिस २ ले यात्रीहरूलाई चन्द्रमाको टाढाको भागमा पुर्‍याएर पृथ्वीमै फिर्ता ल्याउनेछ । यो अभियानअन्तर्गत सन् १९७२ पछि पहिलोपटक मानिसले पृथ्वीको कक्षभन्दा पर यात्रा गर्न लागेका छन् । अन्तरिक्षयात्रीहरू अप्रिल ६ मा चन्द्रमाको टाढाको भाग भएर घुम्दै अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्ने छन् ।

नासाले सन् १९७२ मा अपोलो १७ अभियानका टोलीले खिचेको र अहिले सन् २०२६ मा खिचिएको पृथ्वीको फोटो सँगसँगै राखेर तुलना गरेको छ । नासाले लेखेको छ, ‘५४ वर्षको अन्तरालमा हामीले लामो यात्रा गरेका छौँ तर एउटा चीज चाहिँ बदलिएको छैन स् अन्तरिक्षबाट हेर्दा हाम्रो घर सुन्दर देखिन्छ ।’

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार  २० : ०१  बजे