इरान युद्ध जारी रहँदा अमेरिकी स्थल सेना प्रमुखद्वारा राजीनामा

काठमाडौं, २१ चैत्र ।  इरान युद्ध जारी रहँदा अमेरिकामा स्थल सेनाका प्रमुख जनरल जर्ज र्‍यान्डीले राजीनामा दिनुभएको छ । तर, यो राजीनामा स्वेच्छाले नभएर ट्रम्प प्रशासनले सिर्जना गरेको दबाबपछि आएको अमेरिकी सैन्य अधिकारीहरूलाई उद्दृत गर्दै सीएनएनले जनाएको छ । जनरल जर्जसँगै अन्य दुई वरिष्ठ सैनिक अधिकारीले पनि राजीनामा दिएका छन् । राष्ट्रपति डनल्ड ट्रम्पले इरान युद्धका बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै रक्षामन्त्री पिट हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएको जनाइएको छ ।पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जालमा स्थल सेना प्रमुखको राजीनामाको पुष्टि गर्नुभएको छ । बिहीबारको आकस्मिक घोषणाले वरिष्ठ सैन्य नेतृत्व अचम्ममा परेको एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन् । जर्जको बाइडेन प्रशासनमा रक्षामन्त्री रहेका लोएड अस्टिनसँग पनि राम्रो सम्‍बन्ध थियो ।

इरान युद्ध चलिरहेका बेला स्थल सेना प्रमुखको अवकाशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँले सेप्टेम्बर २०२३ देखि स्थल सेना प्रमुखका रूपमा काम गर्दै आउनुभएको थियो । जर्जको अवकाशपछि सहायक जनरल क्रिस लानेभ नयाँ कार्यकारी सेना प्रमुख बन्ने हुनुभएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार  १६ : ३४  बजे