काठमाडौं,२० चैत । – बलात्कारपीडितले विदेशमै बसेर पनि नेपालमा रहेका आरोपितविरुद्ध उजुरी दर्ता गर्न सक्ने व्यवस्था रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले पीडितलाई आवश्यक प्रमाणसहित विदेशबाटै कानुनी प्रक्रिया अघि बढाउन सकिने जनाएको हो।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पीडित विदेशमा रहेको र आरोपित नेपालमै रहेको अवस्थामा पनि नेपालको कानुन आकर्षित हुने भएकाले उजुरी दर्ता गर्न कुनै बाधा हुँदैन।
उहाँले भन्नुभयो, “यदि पीडित विदेशमा हुनुहुन्छ र आरोपित नेपालमा छ भने पनि नेपालमै मुद्दा दर्ता गर्न सकिन्छ। पीडितले विदेशबाटै उजुरी दिन सक्नुहुन्छ।”
प्रहरीका अनुसार यस्ता मुद्दामा मेडिकल परीक्षण प्रतिवेदन महत्त्वपूर्ण प्रमाणका रूपमा आवश्यक पर्ने भएकाले विदेशमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेपाल पठाउनुपर्ने हुन्छ। यदि रिपोर्ट पठाउन सम्भव नभए पीडित स्वयं नेपाल आएर आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्छ।
यसका साथै पीडितका परिवारका सदस्य वा आफन्तले पनि आवश्यक प्रमाणसहित नेपालमा उजुरी दर्ता गर्न सहयोग गर्न सक्ने प्रहरी स्रोतले जनाएको छ।
कानुनी समयसीमाबारे प्रहरीले बलात्कारसम्बन्धी उजुरी घटना भएको मितिबाट तोकिएको समयसीमाभित्र दर्ता गर्नुपर्ने स्पष्ट पारेको छ। उपलब्ध कानुनी सन्दर्भअनुसार यस्तो उजुरीमा समयसीमा सम्बन्धित दफा अनुसार लागू हुने भएकाले पीडितले सकेसम्म ढिलो नगरी उजुरी दिन आग्रह गरिएको छ।
प्रहरीका अनुसार विदेशबाट उजुरी दर्ता गराएर कारबाही अघि बढाइएका यस्ता घटनामा यसअघि पनि विभिन्न व्यक्तिहरू पक्राउ परिसकेका छन्।







प्रतिक्रिया