काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले संसदमा बोल्दै एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन्। उनले राष्ट्रिय स्वाधीनता, सीमाको सुरक्षा र जनउत्तरदायी शासनका सवाललाई जोड्दै प्रतिनिधि सभामा कडा स्वरमा आफ्ना धारणा राखेका हुन्।
संसद बैठकमा बोल्दै राईले सीमावर्ती क्षेत्रमा सरकारी निगरानी थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले सीमा सुरक्षा कमजोर हुँदा अवैध गतिविधि बढ्ने खतरा रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरे।
यसैगरी, उनले सांसदहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अघि सारे। जनप्रतिनिधिहरूले पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै सम्पत्ति विवरणको नियमित अनुगमन र परीक्षण आवश्यक रहेको उनको भनाइ थियो।
शिक्षा क्षेत्रतर्फ संकेत गर्दै राईले हालको प्रणालीलाई उत्पादन, निर्माण, नवप्रवर्तन र आविष्कारसँग जोड्नुपर्ने धारणा राखे। उनले जीवनोपयोगी, सीपमुखी र व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै युवा पुस्तालाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो रहेको बताए।
संसदभित्रको कार्यशैलीप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। बैठक सञ्चालनमा हुने ढिलाइ, समयपालनको कमजोरी र विभेदपूर्ण व्यवहारले जनप्रतिनिधिको कार्यक्षमतामाथि असर परेको उनको टिप्पणी थियो।
राईले संसदलाई जनताका मुद्दा उठाउने प्रभावकारी थलो बनाउनु पर्नेमा जोड दिँदै सरकारलाई नीतिगत सुधारतर्फ गम्भीर बन्न आग्रह गरेका छन्।







प्रतिक्रिया