काठमाडौं, १८ चैत्र । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रदर्शन नियन्त्रणका क्रममा गोली चलाउन आदेश दिने अधिकार गृहमन्त्रीसँग नहुने बताउनुभएको छ । जेन–जी आन्दोलनका क्रममा भएको बल प्रयोगबारे बुधबारदेखि सुरु भएको बयानमा उहाँले यस्तो दाबी गर्नुभएको हो।
प्रहरी हिरासतमा रहेका लेखकलाई महाराजगञ्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट बयानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। बयानमा सहभागी एक अधिकारीका अनुसार लेखकले भदौ २३ गते गोली चलाउने आदेश आफूले नदिएको स्पष्ट पार्नुभएको छ।
लेखकले बयानमा भन्नुभएको छ, “गृहमन्त्रीको भूमिका प्रशासन र सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा समन्वय र नीतिगत निर्देशन दिनेसम्म हो। बल प्रयोग वा गोली चलाउने निर्णय स्थानीय प्रशासन र सुरक्षा निकायको अधिकार क्षेत्रभित्र पर्छ।”
उहाँले थप रूपमा कुनै पनि कानुनले गृहमन्त्रीलाई प्रत्यक्ष बल प्रयोगको आदेश दिने अधिकार नदिएको जिकिर गर्नुभएको छ। स्थानीय प्रशासन सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुनअनुसार सम्भावित अवस्थाको मूल्याङ्कन गरी आवश्यक निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूलाई दिइएको उहाँको भनाइ छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दमन प्रकरणमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो। उहाँ पक्राउ परेपछि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पक्राउ पर्नुभएको थियो।
स्रोतका अनुसार लेखकले आफ्नो बयान बुँदागत रूपमा विस्तृत व्याख्यासहित प्रस्तुत गर्नुभएको छ। यो बयानले जेन–जी आन्दोलन दमन प्रकरणको अनुसन्धानलाई थप राजनीतिक र कानुनी बहसतर्फ धकेलेको विश्लेषण गरिएको छ।







प्रतिक्रिया