समानान्तर गतिविधिमा कांग्रेस कडा, अनधिकृत वक्तव्य जारी गर्ने समूहलाई चेतावनी

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्ने समूहलाई औपचारिक रूपमा सचेत गराएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत रूपमा वक्तव्य जारी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अनुशासन समितिका संयोजक तारामान गुरुङले अब पनि यस्ता गतिविधि दोहोरिए विधानअनुसार कडा कारबाही गरिने जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीको आधिकारिक जिम्मेवारी नभएको व्यक्तिले नक्कली लेटरप्याड प्रयोग गरेर आफूलाई जिम्मेवार पदाधिकारी देखाउँदै वक्तव्य जारी गर्नु गम्भीर अनुशासनहीनता हो।

कांग्रेसको निर्णयमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ। अब उप्रान्त यस्ता कार्य गर्ने जो कोही व्यक्तिमाथि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा प्रचलित नेपाल कानुनबमोजिम कारबाही अघि बढाइनेछ।”

पार्टीभित्र शेरबहादुर देउवा–शेखर कोइराला समूहबीच समानान्तर गतिविधि अघि बढेको सन्दर्भमा यो चेतावनी आएको हो। उक्त समूहले सोमबार र मंगलबार काठमाडौंमा छुट्टै भेला आयोजना गरेको बताइएको छ।

यस घटनाले कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको विश्लेषण गरिएको छ। आगामी दिनमा पार्टी एकता र संगठनात्मक अनुशासन कायम राख्न नेतृत्वमाथि थप दबाब बढ्ने देखिएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  १७ : ५२  बजे