एसईई भोलिदेखि सुरु, एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, १८ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड ले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बोर्डका अनुसार देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन हुनेछ। यस वर्षको एसईईमा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्। यस वर्ष पनि जापान मा कायम गरिएको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थी ले परीक्षा दिनेछन्।


यस्तो छ परीक्षा तालिका

बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ।

  • चैत २० – अनिवार्य नेपाली
  • चैत २२ – अनिवार्य गणित
  • चैत २३ – विज्ञान तथा प्रविधि
  • चैत २४ – सामाजिक अध्ययन
  • चैत २५ – ऐच्छिक प्रथम खण्ड
  • चैत २६ – ऐच्छिक द्वितीय खण्ड
  • चैत २७–२९ – प्राविधिक धारका बाँकी विषय

सामूहिक अनुगमनमा रोक

यस वर्ष बोर्डले परीक्षा केन्द्रमा सामूहिक अनुगमनमा रोक लगाएको छ।

परीक्षा हलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।

अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केन्द्रको बाहिरी क्षेत्रबाट मात्र अनुगमन गर्ने व्यवस्था गरिएको छ।

पत्रकारलाई पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न अनुमति दिइएको छ।


कडा सुरक्षा व्यवस्था

बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रत्येक केन्द्रमा औसत १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक तथा अन्य सहयोगी कर्मचारी खटाइनेछन्।


एक महिनाभित्र नतिजा

यस वर्षको सबैभन्दा महत्वपूर्ण निर्णयअनुसार उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिने छ।

बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ। त्यसका लागि उत्तरपुस्तिका जहाँ परीक्षा भएको हो, त्यहीँबाट परीक्षण गरिने व्यवस्था मिलाइएको छ।

सस्मित पोखरेल ले पनि एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिनुभएको छ।

गत वर्षसम्म एसईईको नतिजा असार दोस्रो सातासम्म सार्वजनिक हुने गरेको थियो।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  ११ : ३१  बजे