अध्यक्ष ओलीको रिहाइको माग गर्दै तेस्रो दिन पनि एमालेको प्रदर्शन, चार सचिवको नेतृत्वमा सडक आन्दोलन

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेले काठमाडौंमा प्रदर्शन जारी राखेको छ। पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू सडक आन्दोलनमा उत्रिनुभएको हो।

आज बिहान माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, डा. राजन भट्टराई र महेश बस्नेत लगायतका नेताहरूको नेतृत्व रहेको छ। एमालेका अनुसार आजको आन्दोलन उपत्यका विशेष कमिटीको आयोजनामा भइरहेको हो।

पार्टी सचिव महेश बस्नेत ले आज बिहानै सामाजिक सञ्जालमार्फत नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको थियो।

गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई गुण्डुबाट पक्राउ गरिएको थियो। पक्राउ परेकै दिनदेखि एमालेले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।

यसैबीच, आन्दोलनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव शेरधन राई ले सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम चालेको आरोप लगाउनुभएको छ। उहाँले मुलुकलाई मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै भन्नुभयो, “देशलाई द्वन्द्व र मुठभेडतर्फ धकेलेर युक्रेन बनाउने खोजी भइरहेको छ।”

राईले जनादेशको उन्मादमा सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो।

हाल बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन जारी रहेको छ। प्रदर्शनका कारण सो क्षेत्रको यातायात र जनजीवनमा आंशिक प्रभाव परेको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  १५ : १०  बजे