काठमाडौं, १४ चैत्र । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारमाथि प्रतिशोध र पूर्वाग्रहको राजनीति गरेको आरोप लगाउँदै आजैदेखि आन्दोलन सुरु गर्ने घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले देशमा द्वन्द्वको अवस्था सिर्जना गरेको जिकिर गर्नुभएको हो।
बस्नेतले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आन्दोलन आवश्यक भएको उल्लेख गर्दै कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो। उहाँका अनुसार “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक प्रणालीको संरक्षण गर्न आन्दोलन अपरिहार्य बनेको छ।”
उहाँले सरकारको कदमले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको स्पष्ट झल्को दिएको दाबी गर्दै राज्य संयन्त्रको प्रयोगमाथि पनि प्रश्न उठाउनुभएको छ। सुरक्षाकर्मीको भूमिका प्रति टिप्पणी गर्दै उहाँले सरकारी सम्पत्ति जोगाउन असफल भएको सुरक्षा संयन्त्र अहिले राजनीतिक नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन गरिएकोप्रति असन्तुष्टि जनाउनुभयो।
यसै सन्दर्भमा उहाँले गृहमन्त्री सुदन गुरुङको नियुक्तिलाई समेत विवादास्पद भन्दै आलोचना गर्नुभएको छ।
एमालेले घोषणा गरेको आन्दोलनसँगै पछिल्लो राजनीतिक घटनाक्रम झन् तातिने संकेत देखिएको छ भने देशको समग्र राजनीतिक वातावरण थप तनावग्रस्त बन्दै गएको छ।







प्रतिक्रिया