काठमाडौं, १४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले बालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गर्नुभएको हो।
उहाँले वर्तमान अवस्थामा द्वन्द्व र मुठभेड कुनै पनि पक्षको प्राथमिकता हुन नहुने उल्लेख गर्दै देशलाई सुशासन र समृद्धितर्फ अघि बढाउन कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ।
थापाले आफ्नो भनाइमा लेख्नुभएको छ, “सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन।”
उहाँले थप्नुभएको छ कि मुलुकलाई स्थायित्व र विकासतर्फ लैजान सबै पक्षबीच सहकार्य, संयमता र विधिको शासनको सम्मान आवश्यक रहेको छ।
उच्च राजनीतिक तहका नेताहरूको पक्राउसँगै देशको राजनीतिक वातावरण थप तातिएको छ भने विभिन्न दल तथा नेताहरूबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।







प्रतिक्रिया