प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं, चैत्र  १४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गरिएको पक्राउ प्रतिशोधपूर्ण रहेको बताउँदै त्यसविरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गर्नुभएको छ।

जेन–जी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनासम्बन्धी आरोपमा प्रहरीले शनिबार बिहान उहाँलाई पक्राउ गरेपछि यस्तो प्रतिक्रिया आएको हो।

प्रहरी टोली पक्राउ पुर्जी लिएर निवासमा पुगेपछि उहाँले कानुनी परामर्श गर्नुभएको थियो। सो क्रममा आफ्ना वकिलहरूसँग उहाँले भन्नुभएको थियो, “यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्।”

उहाँले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गर्नुभएको थियो।

परामर्शमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले समेत उक्त पक्राउको कानुनी आधार कमजोर रहेको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो पक्राउको स्पष्ट कानुनी आधार देखिँदैन, प्रथम दृष्टिमै यो गलत देखिन्छ।”

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उच्च राजनीतिक नेतृत्वमाथि कारबाही अघि बढाएसँगै देशको राजनीतिक तथा कानुनी वृत्तमा बहस तीव्र बन्दै गएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार  ०७ : १६  बजे