चैत १९ देखि एसईई : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी, तयारी पूरा

काठमाडौं,  चैत १३ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन् ।

परीक्षामा छात्राको सङ्ख्या बढी देखिएको छ । कुल सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षार्थी रहेका छन् । विदेशस्थित जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख ९ हजार ५१३ विद्यार्थी सहभागी हुनेछन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ३९ हजार ७६९ विद्यार्थी रहेका छन् । यस्तै कोशीमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२ र सुदूरपश्चिममा ५४ हजार ६३५ विद्यार्थी सहभागी हुनेछन् ।

देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यस्तो छ परीक्षा तालिका

चैत १९ गते अनिवार्य अङ्ग्रेजीबाट परीक्षा सुरु हुनेछ । त्यसपछि क्रमशः चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड र चैत २७, २८ तथा २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

सामूहिक अनुगमनमा रोक

यस वर्ष परीक्षा केन्द्रभित्र हुने सामूहिक अनुगमनमा रोक लगाइएको बोर्डले जनाएको छ । विभिन्न संघ–संस्थाका प्रतिनिधि हलभित्र प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।

अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिका आधिकारिक प्रतिनिधिले केन्द्र बाहिरबाट मात्र अनुगमन गर्नेछन् । परीक्षा हलभित्र भने केन्द्राध्यक्ष र खटिएका निरीक्षकले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रश्नपत्र र सुरक्षा तयारी

परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका सबै जिल्लामा प्रश्नपत्र सुरक्षित रूपमा पुर्‍याइसकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छापिएका प्रश्नपत्र सुरक्षा निकायको समन्वयमा ढुवानी गरिएको हो ।

प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरिएको छ । यदि कुनै स्थानमा प्रश्नपत्र बाहिरिएको पाइएमा सम्बन्धित प्रदेशको विषयगत परीक्षा मात्र रद्द गरी पुनः सञ्चालन गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा १५ जना सुरक्षाकर्मी खटाइनेछन् । साथै, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक र १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ ।

बोर्डले परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १९ : २८  बजे