कार्की आयोग प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षड्यन्त्रपूर्ण : महेश बस्नेत

धरपकडको प्रयास भए सशक्त प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, १३ चैत । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ ।

उहाँले सरकारको निर्णयलाई कुटिल र षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै सुरक्षाकर्मी र तत्कालीन राजनीतिक नेतृत्वप्रति फरक–फरक व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रतिवेदन कार्यान्वयनको नाममा राजनीतिक प्रतिशोध लिन खोजिए त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने त्यो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम निम्त्याउँछ । यस्ता पक्षपाती निर्णयहरू कुनै पनि हालतमा स्वीकार्य हुँदैनन् । न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको विरुद्ध सशक्त प्रतिरोध हुनेछ ।”

बस्नेतले भदौ २३ र २४ गतेको आन्दोलनमा संलग्न व्यक्तिहरूको भूमिकामाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ । आन्दोलनका क्रममा हिंसा भड्काउने, बालबालिकालाई सडकमा उतार्ने तथा उग्र गतिविधिमा संलग्न व्यक्तिहरू अहिले राजनीतिक पदमा पुगेको आरोप उहाँले लगाउनुभएको छ ।

उहाँले केही सन्देहास्पद गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको आर्थिक संलग्नताबारे समेत गम्भीर छानबिन आवश्यक रहेको बताउनुभएको छ ।

बस्नेतले सबै पक्षको निष्पक्ष अनुसन्धानबिना चालिने कुनै पनि कदम पूर्वाग्रहपूर्ण हुने भन्दै सरकारलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १९ : २२  बजे